काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी मानबहादुर बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आरोप अनुसार वडा नम्बर ९ स्थित बागथला–धारी डोबा सडक निर्माणका क्रममा वास्तविक काम नगरी कागजी रूपमा सम्पन्न देखाएर भुक्तानी लिइएको पाइएको छ । विशेषगरी ग्याबिन र मेसिनरी कार्य नगरेको अवस्थामा समेत रकम निकासा गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।अनुसन्धानका क्रममा निर्माणस्थलमा गरिएको कामभन्दा कम कार्य देखिए पनि झुट्टा बिल तथा प्रतिवेदन तयार गरी रकम भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।
नापी किताबमा ३३८ मिटर सिँचाइ नहर निर्माण भएको उल्लेख भए पनि स्थल निरीक्षणमा २४८ मिटर मात्र निर्माण भएको भेटिएको छ । साथै, ह्युम पाइप कल्भर्टलगायत केही संरचना निर्माण नै नगरी कागजमा मात्र देखाइएको पाइएको छ ।
यसरी मिलेमतोमा झुट्टा कागजात तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँ बराबरको रकम हिनामिना गरिएको आयोगको निष्कर्ष छ । सोही रकमलाई बिगो कायम गर्दै प्रतिवादीहरूबाट असुलउपर तथा कैद–जरिवानाको माग गरिएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा अघि बढाएको जनाएको छ ।








