काठमाडौं। प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा ‘गैरकानुनी लाभ लिने मतियार’को आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा अभियोगपत्र दायर गरेको छ।

अख्तियारका अनुसार महरासँगै उनका पुत्र राहुल भन्ने रेशम महरासमेत उक्त प्रकरणमा संलग्न रहेको आरोप छ। अनुसन्धानबाट चिनियाँ, भारतीय तथा बेल्जियम नागरिकसहित १४ जनालाई मतियारको रूपमा किटान गरिएको छ।

ADVERTISEMENT

अभियोगपत्रमा उनीहरूले मिलेमतोमा करिब ७ करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढी गैरकानुनी लाभ लिएको दाबी गरिएको छ। महराले २०७९ पुसदेखि नै विभिन्न विदेशी नागरिक तथा अन्य प्रतिवादीसँग योजना बनाएर सुन तस्करीमा संलग्न भएको अख्तियारको निष्कर्ष छ।

ADVERTISEMENT

अख्तियारले महराले भन्सार विभागका उच्च अधिकारीहरूलाई प्रभावमा पार्दै इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा लुकाइछिपाइ ल्याइएको सुन गैरकानुनी रूपमा छुटाउने प्रयास गरेको जनाएको छ। यसका लागि पटक–पटक भेटघाट र फोन सम्पर्क गरिएको तथ्यसमेत फेला परेको दाबी गरिएको छ।

उक्त प्रकरणमा भन्सार अधिकृतसहित अन्य कर्मचारीहरूसँगको मिलेमतोमा जफत गरिएको सामग्री सुरक्षित नराखी परिवर्तन गर्ने, प्रमाण लोप गर्ने तथा सुन बिक्री गर्ने कार्यसमेत भएको अभियोगपत्रमा उल्लेख छ।

ADVERTISEMENT

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार महरासहित सबै प्रतिवादीलाई मुख्य कसुरदारसरह सजाय माग गरेको छ। कानुनअनुसार यस्तो कसुरमा ८ देखि १० वर्षसम्म कैद तथा बिगोअनुसार जरिवानाको व्यवस्था रहेको छ।

यसअघि पनि सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंले केही प्रतिवादीलाई ‘अपराधिक विश्वासघात’ र ‘भन्सार चोरी पैठारी’ कसुरमा दोषी ठहर गरिसकेको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अझै विचाराधीन रहेको छ।

अख्तियारले महरालगायतले भन्सार प्रक्रिया प्रभावित पार्दै ठूलो मात्रामा राजस्व चुहावट गराएको तथा संगठित रूपमा सुन तस्करीलाई सहयोग पुर्‍याएको दाबी गरेको छ।