काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा डिजिटल भुक्तानीको प्रयोग विस्तार हुँदै गए पनि भुक्तानी सेवा प्रदायक र तिनका आधिकारिक एजेन्टको संख्या भने घट्दै गएको छ ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट र कनेक्ट आईपीएस प्रयोगकर्ता बढिरहेका बेला सेवा प्रदायक संस्था र एजेन्टको संख्या खुम्चिनुले डिजिटल भुक्तानी क्षेत्रको संरचना र प्रतिस्पर्धाबारे प्रश्न उठाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८ प्रतिशतले बढेर ३ करोड ९४ हजार ११ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यस्तो संख्या २ करोड ७७ लाख ४१ हजार २८४ थियो ।
त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ प्रतिशतले बढेर २५ लाख ६६ हजार १७४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या २२ लाख १९ हजार ३४१ थियो ।
कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या पनि ११ प्रतिशतले वृद्धि भई १५ लाख ९६ हजार ४९० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १४ लाख ४१ हजार ४७१ थियो ।
डिजिटल वालेट प्रयोगकर्ताको संख्या एक वर्षमा ३ प्रतिशतले बढेर २ करोड ७६ लाख ९८ हजार ९१८ पुगेको छ । २०८२ असार मसान्तमा यस्तो संख्या २ करोड ६७ लाख ६५ हजार ६६० थियो ।
तर, कार्डमार्फत हुने भुक्तानीका प्रयोगकर्ताको वृद्धिदर भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । डेबिट कार्ड प्रयोगकर्ताको संख्या सामान्य वृद्धि हुँदै १ करोड ३७ लाख ८ हजार ७७० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १ करोड ३६ लाख ६५ हजार ७९२ थियो । राष्ट्र बैंकले यसको वृद्धिदर शून्य प्रतिशत देखाएको छ ।

क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ प्रतिशतले बढेर ३ लाख २० हजार ७७५ पुगेको छ । त्यस्तै, प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या १२ प्रतिशतले वृद्धि भई २ लाख ७९ हजार ९११ पुगेको छ ।
सेवा प्रदायक र एजेन्टको संख्या घट्दो
डिजिटल भुक्तानी प्रयोगकर्ता बढिरहँदा सेवा सञ्चालन गर्ने संस्थाको संख्या भने घटेको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को संख्या ११ प्रतिशतले घटेर ९ बाट ८ मा झरेको छ ।
त्यस्तै, भुक्तानी सेवा प्रदायक (पीएसपी) को संख्या १७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २३ वटा रहेका पीएसपी २०८३ असार मसान्तसम्म आइपुग्दा १९ वटामा सीमित भएका छन् ।
यसको प्रभाव सर्वसाधारणलाई सेवा उपलब्ध गराउने आधिकारिक एजेन्टको संख्यामा पनि देखिएको छ । एक वर्षमा एजेन्टको संख्या १९ प्रतिशतले घटेर ३ लाख ४५ हजार ३९४ मा झरेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४ लाख २७ हजार ७८७ थियो ।
भुक्तानी पूर्वाधारमा भने सुधार
डिजिटल भुक्तानीको पूर्वाधारतर्फ भने केही सुधार देखिएको छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा सहभागी संस्थाको संख्या २ प्रतिशतले बढेर ४५ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४४ थियो ।
तर, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) मा सहभागी संस्थाको संख्या भने स्थिर रहेको छ । २०८२ र २०८३ असार मसान्त दुवै अवधिमा ईसीसीमा सहभागी संस्थाको संख्या ५४ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यसरी डिजिटल भुक्तानी प्रयोगकर्ताको संख्या निरन्तर बढे पनि सेवा प्रदायक र एजेन्टको संख्या घटिरहेको तथ्यांकले डिजिटल कारोबारको विस्तारसँगै सेवा उपलब्ध गराउने संरचनामा पनि परिवर्तन भइरहेको देखाउँछ ।












