काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ (BNPL) सुविधा सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत ग्राहकले १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्।

बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर यो सुविधा सञ्चालनमा ल्याइएको हो। बैंकले ONEBNPL प्लेटफर्ममा आबद्ध हुँदै उक्त सेवा सुरु गरेको जनाएको छ।

ADVERTISEMENT

नेपाल बैंक र फिन्टारा सोलुसन्स प्रालिबीच भएको सम्झौताअनुसार ग्राहकले बैंकको क्रेडिट कार्ड प्रयोग गरी यो सुविधा लिन सक्नेछन्। यसअन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई ब्याज तथा सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ।

ADVERTISEMENT

बैंकको केन्द्रीय कार्यालय न्युरोड, काठमाडौंमा गत कात्तिक १६ गते आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको थियो। बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्टारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले सम्झौतामा हस्ताक्षर गरेका थिए।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार यस सुविधाका मुख्य विशेषतामा ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा, ‘बाइ नाउ पे लेटर’ सेवा, १८ महिनासम्म किस्ताबन्दीमा सामान खरिद गर्न सकिने व्यवस्था तथा शून्य प्रतिशत ब्याजदर र सेवा शुल्क रहेका छन्। नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ।