काठमाडौं। नबिल बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभरका ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ।बैंकका अनुसार मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको अभियानमार्फत सातै प्रदेशका कुल ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको हो।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ‘ग्लोबल मनी विक’ यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो। सोही अभियानअन्तर्गत बैंकले विभिन्न स्थानमा बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवालाई अभिमुखीकरण गरेको जनाएको छ।
बैंकले आफ्ना शाखा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गरेको थियो। प्रदेशगत रूपमा कोशी प्रदेशमा २ हजार ६४, मधेश प्रदेशमा १ हजार ३८१, बागमती प्रदेशमा २ हजार ६०८, गण्डकी प्रदेशमा १ हजार २७८, लुम्बिनी प्रदेशमा १ हजार ३३८, कर्णाली प्रदेशमा १ हजार ५०४ र सुदूरपश्चिम प्रदेशमा ९१४ विद्यार्थी लाभान्वित भएका छन्।
वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउन बैंकले विभिन्न सचेतनामूलक सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणसमेत गर्दै आएको जनाएको छ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा परिचित नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, उद्यमशीलता र दिगो विकासमा योगदान पुर्याउँदै आएको छ। साथै ‘नबिल एसएसई’ कार्यक्रममार्फत सामाजिक उद्यमशीलता विकास र रोजगारी सिर्जनामा समेत बैंकले निरन्तर पहल गर्दै आएको जनाएको छ।








