काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ मास्टर कार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवा क्षेत्रमा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ। बिहीबारदेखि बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी विशेष पत्रकार सम्मेलनमार्फत गराएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्यमा कुमारी बैंकको डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा लिंदै आएको अग्रसरताबारे जानकारी दिँदै मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए।
कार्यक्रममा प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले कार्डको महत्व, यसको प्रयोगका सम्भावना र ग्राहकलाई हुने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिँदै, भौतिक र डिजिटल दुवै माध्यमबाट भुक्तानी सरल र सुरक्षित हुने बताए। उनले पत्रकारहरूको प्रश्नको उत्तर दिँदै, कार्ड नेपाल, भारत र भुटानमा सबै मास्टर कार्ड स्वीकार गर्ने एटीएम र पीओएसमा प्रयोग गर्न सकिने, चाँडै क्रेडिट कार्ड सेवा सुरु हुने, साथै अनलाइन र अन्तर्राष्ट्रिय भुक्तानी सहज हुने बताए।
कुमारी बैंकले विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ र देशभर २९७ शाखा, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई सुरक्षित, आधुनिक र प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।








