काठमाडौं। अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरु भएको छ।यो व्यवस्थासँगै श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्टआईपीएस तथा अन्य मोबाइल बैंकिङ एपमार्फत श्रीलंकाका चार लाखभन्दा बढी लंकाक्यूआर मर्चेन्टमा क्यूआर स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।

श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, श्रीलंकाको केन्द्रीय बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड, लंकापे तथा दुवै देशका बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा उक्त सेवाको औपचारिक सुरुवात गरिएको हो।यसलाई दक्षिण एसियाली मुलुकहरूबीच डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यो प्रणालीले सुरक्षित, तत्काल र अन्तरआबद्ध भुक्तानी माध्यम उपलब्ध गराउँदै नेपाल र श्रीलंकाबीचको भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।नेपाल र श्रीलंकाबीच ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ। पछिल्लो समय बढ्दो पर्यटन र व्यापारिक आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

ADVERTISEMENT

नयाँ भुक्तानी व्यवस्थाले पर्यटक तथा व्यापारिक भ्रमणमा जाने व्यक्तिलाई नगदरहित, सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।यसले साना तथा मझौला उद्यमीलाई समेत अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।यस सेवा अन्तर्गत नेपाली प्रयोगकर्ताले नेपालका सहभागी डिजिटल भुक्तानी एपमार्फत श्रीलंकामा रहेका लंकाक्यूआर स्क्यान गरेर रियल टाइममा भुक्तानी गर्न सक्नेछन्।

ADVERTISEMENT

राष्ट्रियस्तरका सुरक्षित भुक्तानी प्रणालीमार्फत हुने भएकाले यो सेवा प्रयोगकर्ता र व्यवसायी दुवैका लागि भरपर्दो र सहज माध्यम बन्ने बताइएको छ।प्रारम्भिक चरणमा लक्ष्मी सनराईज बैंकले जारीकर्ता बैंकका रूपमा सेवा सुरु गरेको छ। बैंकद्वारा जारी गरिएका डलर कार्ड तथा भुक्तानी उपकरणहरू कनेक्टआईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ।

ADVERTISEMENT

आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपमा पनि यो सुविधा विस्तार गरिने जनाइएको छ।यो पहलले दुवै देशका डिजिटल वित्तीय सेवालाई समावेशी बनाउने, क्षेत्रीय भुक्तानी प्रणालीलाई जोड्ने तथा आधुनिक डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने साझा उद्देश्यलाई अघि बढाएको छ।