काठमाडौं । इजरायलका लागि नेपालको राजदूत नियुक्त भएका कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्वअध्यक्ष सुरेश कुमार कर्णलाई महासंघले सम्मान गरेको छ।

कर्णको नियुक्तिको अवसरमा आइतबार महासंघको खुसीबुस्थित सचिवालयमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवको विषयका रूपमा लिएका छन्।

ADVERTISEMENT

सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व गरेका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

ADVERTISEMENT

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी व्यक्तिलाई इजरायलजस्तो नवप्रवर्तन र प्रविधिमा अग्रणी देशमा राजदूतका रूपमा पठाउनु नेपालको आर्थिक तथा प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण अवसर भएको बताए।

त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले कर्णको नियुक्तिले नेपाली आईसीटी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप अवसर दिलाउने विश्वास व्यक्त गरे। उनले नेपालको दक्ष प्रविधि जनशक्ति र इजरायलको उन्नत प्रविधि क्षेत्रबीच सहकार्यको ठूलो सम्भावना रहेको बताए।

सम्मान ग्रहणपछि राजदूत कर्णले प्रविधि कूटनीतिमार्फत नेपाल र इजरायलबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा विशेषगरी दुई क्षेत्रमा काम गर्ने योजना सुनाए।

पहिलो, सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा र आईटी सेवामा नेपाली दक्ष जनशक्तिलाई इजरायली प्रविधि कम्पनीसँग जोड्दै नेपाललाई नलेज आउटसोर्सिङको गन्तव्यका रूपमा विकास गर्ने। दोस्रो, दुवै देशका आईटी उद्योगबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण र स्टार्टअप इकोसिस्टमको आदानप्रदानलाई प्रवर्द्धन गर्ने।

कार्यक्रममा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्वअध्यक्षहरू विजय कृष्ण श्रेष्ठ, विप्लव मान सिंह, ई. विनोद ढकाल, हेमन्त कुमार चौरसिया तथा निवर्तमान अध्यक्ष रञ्जित कुमार पोद्दार सहभागी थिए।

त्यस्तै, कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र सचिव दीपेन्द्र पौडेललगायत महासंघका पदाधिकारीहरूको उपस्थिति थियो।

कर्णको नियुक्तिसँगै नेपाली आईटी कम्पनीहरूले इजरायलमा व्यावसायिक साझेदारी विस्तार गर्ने, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने अवसर पाउने अपेक्षा क्यान महासंघले गरेको छ।