काठमाडौँ। भारत र चीनले नेपाली भूमि लिपुलेक मार्फत द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसरी एकलौटी रुपमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा “हाम्रो भू-सिमा हाम्रो अधिकार”,”हाम्रो भुमि हाम्रो सम्मान” लेखिएका ब्यानर बोकी स्वतन्त्र युवा समूहको नाममा युवाहरूले माइतीघरम प्रदर्शन गरेका छन् । त्यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता प्रहार गरेका थिए। यसरी पुत्लामा जुत्ता हान्ने ८ जनालाइ प्रहरीले पक्राउ गरेको बताइएको छ ।

लिपुलेक नेपालको आधिकारिक नक्सामा समावेश गरिएको नेपाली भूभाग भएकाले यो सहमति चर्चामा आएसंगै नेपालमा भारत र चीनप्रति आक्रोश बढेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार नै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग रहेको बताएको छ।
नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको स्मरण गराइएको छ। साथै, विवादित क्षेत्र नेपालको भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।
नेपाल सरकारको जवाफको केहि घन्टामै भारतीय विदेश मन्त्रालयले आफुले उक्त कुरा ‘जानकारीमा लिएको ‘ उल्लेख गर्दै “लिपुलेकमार्फत भारत र चीनबीचको सीमा व्यापार सन् १९५४ बाट निरन्तर चल्दै आएको हो। विभिन्न चरणमा अवरोध भए पनि यो व्यापार दशकौँसम्म सक्रिय रह्यो। पछिल्ला वर्षहरूमा कोभिड–१९ लगायतका कारणले यसमा अवरोध आएको थियो, जसलाई दुवै मुलुकले हाल पुनः सञ्चालन गर्ने सहमति गरेका छन्। हाम्रो धारणा यसबारेमा स्पष्ट र एकनासकै छ।” भन्ने प्रतिक्रिया दिएको छ। यस्तो जवाफले नेपालीहरुलाई थप निराश र आक्रोशित बनाएको छ। चीनले भने हालसम्म यो बिषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।








