नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनर्निर्माण गर्नुपर्ने धारणा राखे ।
प्रभावित बासिन्दाले पुस्तौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको उल्लेख गर्दै थापाले बेत्रावती, त्रिशूली र देवीघाटका स्थानीयले जोखिम न्यूनीकरण गरेर पुरानै क्षेत्रमा बस्ती पुनर्निर्माण गर्न माग गरेको बताए । पुनर्निर्माण गर्दा स्थानीयको भावना र सुरक्षालाई दुवैलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनःस्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । सडक, पुल, विद्युत् आयोजना र अन्य सार्वजनिक संरचनाको पुनर्निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि योजनामा समेट्नुपर्ने उनले बताए ।
सरकारले पुनर्निर्माणका योजना बनाउँदा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने थापाको भनाइ थियो । पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि कांग्रेसले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताए ।
थापाले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट हुँदै धादिङको गल्छीसम्मका प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । नदीको उच्च बहावबाट क्षति पुगेका नदी किनार र आसपासका बस्ती पुनर्निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमको प्राविधिक अध्ययनलाई आधार बनाउनुपर्ने उनले बताए ।
अवलोकनका क्रममा उनले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुनःस्थापनाका काम र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिएका थिए । उनले प्रभावित बासिन्दासँग छलफल गर्नुका साथै उनीहरू अस्थायी रूपमा बसोबास गरिरहेका आवास केन्द्रको पनि अवलोकन गरे ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना, निजी आवास तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । प्रभावितको स्थायी पुनःस्थापना, सुरक्षित आवास निर्माण र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले थापालाई जानकारी गराएका थिए ।












