काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा जाने भएका छन् । एससीओ शिखर सम्मेलनमा भाग लिन उनी चीन जाने भएका हुन् । मोदीले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीको भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ। २०२० मा गलवान उपत्यकामा भारत–चीन सैन्य झडपपछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ।

मोदीले यसअघि सन् २०१८ मा त्यहाँ भ्रमण गरेका थिए। यो उनको चीनको छैटौं भ्रमण हुनेछ। त्यसअघि मोदी अगस्ट ३० मा जापानको भ्रमणमा जाने भएका छन्। भारत–जापान शिखर सम्मेलनमा भाग लिन उनी जाने भएका हुन् ।

ADVERTISEMENT

गत महिना विदेशमन्त्री एस जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए।

ADVERTISEMENT

जयशंकरले जलस्रोत तथ्यांक साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवादविरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए। सो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको बताइन्छ ।

ADVERTISEMENT