काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आन्दोलनमा उत्रिनु पार्टीको प्रमुख कार्यभार रहेको बताएका हुन् ।

ADVERTISEMENT

उनले आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्नुपर्ने अवस्था नहुने उल्लेख गर्दै परिस्थिति असह्य भएपछि तत्काल आन्दोलन सुरु हुन सक्ने बताए ।

ADVERTISEMENT

सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी गतिविधिबाट पनि सत्ता परिवर्तन हुने गरेको टिप्पणी गरे ।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गरे । अहिले पनि मुलुकको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति एमाले नै रहेको उनको जिकिर थियो ।

नागरिकमा बेचैनी र निराशा बढ्दै गएको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए ।

केही राजनीतिक शक्तिले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको टिप्पणी गर्दै उनले एमाले भने पहिल्यैदेखि बलियो सङ्गठन बनाएर निर्वाचनमा होमिनुपर्ने धारणा राखे ।

‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुईवटा महत्त्वपूर्ण कार्यभार रहेको भनेको छ । एउटा, हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ । आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला,’ ओलीले भने, ‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, परिस्थिति असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ ।’