काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी शक्ति भएकाले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्ने बताएका हुन्।
उनले एमाले स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहेर राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षा गर्ने स्पष्ट पारे।
ओलीले गत निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा मात्रै व्याख्या गर्न नमिल्ने जिकिर गरे। निर्वाचनअघि नै असामान्य र प्रतिकूल राजनीतिक वातावरण सिर्जना गरिएको तथा एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भएको उनको आरोप थियो।
उनले संसद्को असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भूमिकामाथि समेत प्रश्न उठाए। संविधान र कानुनअनुसार न्यायिक निर्णय हुन नसकेको टिप्पणी गर्दै उनले त्यसबेला न्यायालयले न्याय दिन नसकेको बताए।
निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै एमालेले सुरुदेखि नै आवाज उठाए पनि बहिष्कार नगरेको उनले स्पष्ट पारे। निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत व्याख्या र प्रहार हुन सक्ने भएकाले प्रतिकूल परिस्थितिका बाबजुद चुनावमा गएको उनको भनाइ थियो।
विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको ओलीले दाबी गरे।
यसैगरी, उनले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुतिलाई लिएर सरकारको आलोचना गरे। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको उनको आरोप थियो।
जलवायु परिवर्तन नेपालको पर्यटनसँग मात्रै सम्बन्धित विषय नभएको उल्लेख गर्दै ओलीले हिमाल, हिमनदी, पानीको पुनर्भरण प्रणाली र समग्र पारिस्थितिक प्रणालीको संरक्षणसँग जोडिएको बताए।
उनले हिमालको संरक्षण नेपालका लागि मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरमा गम्भीर पहल आवश्यक रहेको बताए।
ओलीले हिमालको संरक्षण, जलस्रोतको सुरक्षा, मरुभूमीकरण रोकथाम तथा जनधनको सुरक्षाका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।












