काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ । बुधबारदेखि काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको भेलाको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरूले सम्बोधन तथा प्रशिक्षण दिने कार्यक्रम छ ।
कार्यतालिकाअनुसार पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्नेछन् । त्यसपछि राष्ट्रिय भेलाको औपचारिक समापन गरिनेछ ।
भेला समापनपछि अपराह्न ३ बजे सोही स्थानमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय भेलामा सहभागीहरूबाट प्राप्त सुझाव तथा पार्टीका आगामी सांगठनिक र राजनीतिक योजनाबारे छलफल हुने जनाइएको छ ।












