काठमाडौं । तिहारको लामो सार्वजनिक बिदाका कारण यो साता शेयर बजारको नियमित कारोबार एक दिनमा सीमित हुँदा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य संकुचन आएको छ । साताभरमा जम्मा एक दिन अर्थात् शुक्रबार मात्र खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) छ दशमलव ४४ अंकले घटेर दुई हजार छ सय ४८ दशमलव ७७ बिन्दुमा झरेको छ । बजारमा ठूला तथा बलिया कम्पनीहरूको कारोबार अवस्था मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंकले घटेर चार सय ७९ दशमलव ५४ बिन्दुमा सीमित भएको छ ।
चाडपर्वको लामो बिदाले बजारको नियमित गतिविधि प्रभावित पार्दा यस साता लगानीकर्ताको सक्रियता पनि स्वाभाविक रूपमा न्यून देखिएको छ । सामान्य अवस्थामा पाँच कारोबार दिन हुने शेयर बजार यो साता एक दिनमै सीमित हुन पुग्दा कारोबारको आकार र रकम दुवैमा ठूलो अन्तर देखिएको हो । नेप्सेका अनुसार यस साता तीन सय ३५ वटा कम्पनीको ३१ हजार तीन सय २३ पटकको कारोबारमा ७८ लाख ४४ हजार दुई सय ६७ कित्ता शेयर खरिद–बिक्री भएका छन् । यसबाट कुल तीन अर्ब ५ करोड ४२ लाख ७४ हजार सात सय २५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साता अर्थात् तिहारअघि भने तीन सय ५८ वटा कम्पनीको दुई लाख ६४ हजार चार सय ८९ पटकको कारोबारमा सात करोड ९५ लाख ५४ हजार चार सय नौं कित्ता शेयर किनबेच भएका थिए । उक्त साता कुल कारोबार रकम २८ अर्ब ४५ करोड ८५ लाख १८ हजार ५ सय ६६ रुपैयाँ पुगेको थियो । तथ्यांकगतरुपमा हेर्दा यो साता कुल कारोबार रकम अघिल्लो साताको तुलनामा करिब ८९ प्रतिशतले घटेको देखिन्छ ।
यो साता नियमित कारोबारका लागि शुक्रबार मात्रै खुलेको नेप्से उक्त दिन छ दशमलव ४४ अंकले घटेर दुई हजार छ सय ४८ दशमलव ७७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंकले घटेर चार सय ७९ दशमलव ५४ बिन्दुमा झरेको छ ।
यो साता कारोबार रकमका आधारमा घोराही सिमेन्ट र सानिमा माई हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीहरू अगाडि देखिएका छन् । कारोबार भएको शेयर संख्याका आधारमा पनि यिनै कम्पनीहरूको उपस्थिति बलियो रहेको छ । बजार पुँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका छन् ।

 

ADVERTISEMENT

 

ADVERTISEMENT