काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।

पर्वका समयमा विद्युत् अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापन, प्रणाली सञ्चालन र सम्भावित चुनौती समाधानका विषयमा छलफल गरेको थियो।

ADVERTISEMENT

त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे समन्वय गरिएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न तथा प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण एवं मर्मतसम्भारका बाँकी काम समयमै सम्पन्न गर्न उनले निर्देशन दिएका हुन्।

विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउन र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। उक्त अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उनको भनाइ छ।

पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ। प्रणालीमा आउन सक्ने समस्या समयमै पहिचान गरी समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।