काठमाडौँ । शुक्रबारदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले शुक्रबार नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता पाँच करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ बुझाएको जानकारी दिए । यसअघि नै बक्यौता तिर्न शुरू गरी वैशाखदेखि तिर्न छाडेको परासीमा रहेको लक्ष्मी स्टिलले पनि किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको उनको भनाइ छ ।

ADVERTISEMENT

त्यसैगरी यसअघि किस्ता बुझाएर बीचमा छाडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसूलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न शुरू गरेको छ ।

ADVERTISEMENT

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसूलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुुक्रबारपहिलो किस्ता बुझाएको हो ।

त्यसैगरी १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।