काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत लाइन विस्तार तथा व्यवस्थापनको काम गर्न विद्युत् कटौती गर्न लागिएको हो। सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गतको हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् सेवा प्रभावित हुनेछ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म विद्युत् कटौती गर्ने तालिका छ।
यसैगरी, कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा, कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले सबै क्षेत्रमा लगातार आठ दिन विद्युत् कटौती हुने नभई सम्बन्धित फिडरअन्तर्गतका क्षेत्रमा तोकिएको दिन र समयमा मात्रै सेवा अवरुद्ध हुने स्पष्ट पारेको छ।









