काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। ब्याटिङमा अविजित अर्धशतक बनाएका रसेलले बलिङमा चार विकेट लिए। उनले खेलको अन्तिम बलमा विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाए।

विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे।

ADVERTISEMENT

अन्तिम बलमा रसेलले हसनलाई बसिर अहमदबाट क्याच गराए। जनकपुरका विशाल सुशीलिङले ४३ र जिमी निशमले २९ रन जोडे।

ADVERTISEMENT

जनकपुरले ३० रन बनाउँदा नै सुरुवाती तीन विकेट गुमाएको थियो। त्यसपछि सेफ हसन र विशाल सुशीलिङले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले। यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए।

विशाल आउट भएपछि क्रिजमा आएका जिमी निशमले पनि आक्रामक ब्याटिङ गरे। उनले १५ बलमा ३ चौका र २ छक्कासहित २९ रन जोडे। हसन र निशमले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।

तर, रुपेश सिंहले १९औँ ओभरको अन्तिम बलमा निशमलाई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो। अन्तिमसम्म क्रिजमा रहेका हसन पनि अन्तिम बलमा आउट भएपछि जनकपुरको जितको सम्भावना समाप्त भयो।

विराटनगरका लागि रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। विराटनगरका लागि इमरानले सर्वाधिक ५६, लोकेशले ५० र रसेलले अविजित ५२ रन बनाए।

इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। लोकेशले ४० बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन जोडे।

ओपनर शेहान जयसूर्य टोलीको स्कोर २ रन हुँदा नै आउट भएका थिए। त्यसपछि इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे। यस सिजनको यो पहिलो शतकीय साझेदारी हो।

त्यस्तै, रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जाने ७ रनमा अविजित रहे। जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।

एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो। इमरान र लोकेशले अर्धशतक बनाएसँगै विराटनगरका लागि यो खेल अर्को कीर्तिमानी बनेको छ।

सुरुवाती दुई खेलमा हार बेहोरेको विराटनगरले त्यसपछि लगातार दुई खेल जितेको छ। चार खेलबाट ४ अंक जोडेको विराटनगर अंकतालिकामा अघि बढेको छ। चार खेल खेलेको जनकपुरको पनि ४ अंक छ। जनकपुरको यो दोस्रो हार हो।