काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मोबाइल बैंकिङमार्फत मात्रै ५ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार भदौमा मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजारवटा कारोबार भएका छन्। कारोबार संख्या र रकम दुवैका आधारमा मोबाइल बैंकिङ डिजिटल भुक्तानीको प्रमुख माध्यमका रूपमा देखिएको छ।

ADVERTISEMENT

यस अवधिमा क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८१ हजार कारोबार भएका छन्। यस माध्यमबाट १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। पसल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक कारोबारमा क्यूआर कोड प्रयोग गर्न सहज भएकाले यसको प्रयोग विस्तार हुँदै गएको छ।

ADVERTISEMENT

त्यस्तै, डेबिट कार्डमार्फत भदौमा १ करोड ८० हजार कारोबार भएका छन्। यी कारोबारको कुल रकम ७४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। मोबाइल बैंकिङ र क्यूआर भुक्तानीको तुलनामा डेबिट कार्डबाट हुने कारोबार रकम कम देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकले बैंकिङ सेवा र भुक्तानी प्रणालीमा डिजिटल माध्यमको महत्त्व बढ्दै गएको देखाउँछ। मोबाइल बैंकिङबाट रकम स्थानान्तरण, बिल भुक्तानी तथा अन्य वित्तीय कारोबार गर्न सकिने सुविधाले ग्राहकलाई बैंकको शाखा वा एटीएमसम्म पुग्नुपर्ने आवश्यकता घटाएको छ।

त्यस्तै, क्यूआर भुक्तानीले नगद बोक्नुपर्ने आवश्यकता कम गर्नुका साथै कारोबारलाई छिटो र सहज बनाउन सहयोग गरेको छ। डिजिटल भुक्तानीको विस्तारले कारोबारको अभिलेख राख्न सहज बनाउने र औपचारिक वित्तीय प्रणालीमा पहुँच बढाउने अपेक्षा गरिएको छ।