काठमाडौँ । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि भने बढेको छ। मौसमविद्का अनुसार आज असोज २० गते र भोलि पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसुनी प्रणाली तथा बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरिरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापकसमेत रहेका पोखरेलका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र वर्षाको मात्रा बढ्ने सम्भावना छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी एक–दुई दिन वर्षाका गतिविधि जारी रहने जनाएको छ।
आज कहाँ–कहाँ वर्षा?
महाशाखाका अनुसार आज पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् पोखरेलका अनुसार असोज २१ गते पश्चिमदेखि पूर्वसम्म अझै धेरै स्थानमा वर्षा हुन सक्छ। त्यस दिन सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको उनले बताएका छन्।
कैलाली, बर्दिया र दाङमा भारी वर्षा
पछिल्लो १२ घण्टामा कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको छ। कैलालीको बलियामा सबैभन्दा धेरै १००.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै बर्दियाको दौलतपुरमा ६८.२ मिलिमिटर र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा भएको छ।
कर्णालीदेखि कोशीसम्मका विभिन्न स्थानमा वर्षा भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि हिजो दिउँसो र राति काठमाडौँ उपत्यकामा समेत वर्षा भएको थियो। काठमाडौँको बबरमहलमा पछिल्लो १२ घण्टामा ३० मिलिमिटर वर्षा मापन गरिएको छ।







