काठमाडौँ । बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लाका प्रमुख सडक खण्ड प्रभावित भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार म्याग्दी र सुर्खेतका सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखाका केही सडक पूर्ण रूपमा अवरुद्ध छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीस्थित फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक असोज २५ गते बिहानदेखि पूर्ण रूपमा अवरुद्ध छन्।
कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान गएको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक तथा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक प्रयोगकर्तालाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।











