काठमाडौं । पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै कमजोर हुँदै गएकाले नेपालमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी मौसमविद् बिनु महर्जनले शनिबारको मौसम बुलेटिन सार्वजनिक गर्दै आगामी दिनमा वर्षाको क्रम घट्दै जाने जानकारी दिएकी हुन्। उनका अनुसार आइतबारको मौसम शनिबारको तुलनामा सुधार हुनेछ भने सोमबार रातिदेखि देशभर वर्षाको सम्भावना नरहेको अनुमान छ।

ADVERTISEMENT

हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसमी प्रणालीको प्रभावका कारण कोशी, मधेस र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

शनिबार राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईमा मौसम मुख्यतया सफा रहे पनि बिहान र राति हुस्सु लाग्न सक्नेछ।

ADVERTISEMENT

सिराहामा सबैभन्दा बढी वर्षा

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सिराहामा १०३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। कास्कीको घलेखर्कमा ७३.८ मिलिमिटर र गुल्मीको बडीगाडमा ६५.२ मिलिमिटर वर्षा भएको छ।

यस अवधिमा सङ्खुवासभा, सर्लाही, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र प्युठानमा पनि भारी वर्षा रेकर्ड गरिएको छ।

आइतबार र सोमबार मौसम थप सुधार हुने

विभागको पूर्वानुमानअनुसार आइतबार कोशी र बागमतीका थोरै स्थान तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ।

सोमबार दिउँसो पहाडी भूभागका निकै कम स्थानमा हल्का वर्षा हुन सक्नेछ। सोमबार राति भने देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले बताएकी छन्।

कोशी र बागमतीमा पहेँलो चेतावनी

मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले पहेँलो चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसम प्रणाली कमजोर हुँदै गए पनि चट्याङको जोखिम कायमै रहेकाले विभागको आधिकारिक वेबसाइटबाट पछिल्लो मौसमसम्बन्धी जानकारी लिन पनि महाशाखाले अनुरोध गरेको छ।