काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफूलाई पटक–पटक प्रधानमन्त्री बनाएको उल्लेख गर्दै पार्टीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ADVERTISEMENT

‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ,’ उनले भने ।

ADVERTISEMENT

कांग्रेस नेपाली जनताले निर्माण गरेको पार्टी भएको दाबी गर्दै देउवाले जनताका प्रतिनिधिबाहेक अरू कसैले पार्टीलाई नियन्त्रणमा लिन नसक्ने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै उनले अहिले पनि अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरे । आफूविरुद्ध १८ करोड रुपैयाँको विषय उठाइएको उल्लेख गर्दै उनले अदालतप्रति विश्वास रहेको बताए ।

देउवाले २०८२ भदौ २३ र २४ गतेका घटना षड्यन्त्र भएको दाबीसमेत गरे । लोकतन्त्रका लागि संघर्ष गरेका नेताका सन्तान र उनीहरूसँग सम्बन्धित आश्रम छानीछानी जलाइएको उनको आरोप थियो ।

कांग्रेसका संस्थापक तथा पुराना नेताहरूका सन्तान आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले सुवर्णशमशेरका नातिहरूसँग पनि संवाद गर्ने बताए । बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सन्तान आफ्नो समूहमा रहेको उनको भनाइ थियो ।