पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गर्दै कांग्रेसबाट टाढिएका मतदाता र परिवारसँग पुनः संवाद थाल्ने बताएका छन्। बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले पार्टीसँग अलग भएका परिवारलाई खोजेर घरदैलोमै पुग्नुपर्ने बताए। उनका अनुसार दुई लाखभन्दा बढी परिवार अहिले कांग्रेसबाट टाढिएका छन्।
“दुई लाखभन्दा बढी परिवार अहिले हामीसँग अलग हुनुभएको छ। ती अलग भएका परिवारलाई हामीले खोज्नुपर्यो। उहाँहरूसँग संवाद गर्नुपर्यो,” थापाले भने।
उनले ११३औँ बीपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय पार्टीबाट अलग भएका परिवारलाई पुनः जोड्ने विशेष अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे। पार्टीको संगठन बलियो बनाउन असन्तुष्ट र टाढिएका मतदातासँग संवाद आवश्यक रहेको उनको भनाइ थियो।
सभापति थापाले पार्टीमा २० देखि ८० वर्ष उमेर समूहका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै पाका नेताको अनुभव र युवाको ऊर्जालाई एकसाथ अघि बढाउनुपर्ने बताए। दुवै पुस्ताको संयोजनबाट मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।
आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले नेताहरूलाई भड्किलो शैली त्यागेर गाउँगाउँमा खटिन निर्देशन दिए। पार्टीका गतिविधि जनतामाझ पुर्याउन र मतदातासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने पनि थापाले बताए। यसले स्थानीय अवस्था र जनताको चाहनाअनुसार उम्मेदवार छनोट गर्ने अवसर तल्लो तहका पार्टी संरचनालाई दिने उनको भनाइ थियो।
कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याएका गण्डकी प्रदेशका ११ जिल्लाका एक–एक जनालाई सम्मान गरेका थिए। सम्मानित हुनेमा नवलपुरकी सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट छन्। उनीहरूलाई जनही २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।








