काठमाडौं — नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालीसेले बुधबार जारी गरेको विज्ञप्तिमा सामान्य विवादका क्रममा गोली चल्दा नागरिकको ज्यान गएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उल्लेख गरिएको छ। संवेदनशील परिस्थितिमा राज्य संयमित हुन नसकेको भन्दै कांग्रेसले घटनाको नैतिक तथा प्रशासनिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा व्यक्त गरेको छ।
कांग्रेसले पछिल्ला सुरक्षा घटनाले सरकार नागरिकको सुरक्षा र शान्ति व्यवस्थापनमा पर्याप्त संवेदनशील र तयारी अवस्थामा नरहेको संकेत गरेको टिप्पणी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेको छ।
पार्टीले थप हिंसा र क्षति हुन नदिन सबै पक्षलाई धैर्य, संयम र संवादको बाटो रोज्न आग्रह गरेको छ। साथै, अफवाह फैलाएर सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने प्रयासप्रति सचेत रहन र कुनै पनि उत्तेजनात्मक गतिविधिमा सहभागी नहुन सबैलाई अपिल गरेको छ।
विज्ञप्तिमार्फत कांग्रेसले आफ्ना सबै समिति, नेता तथा कार्यकर्तालाई पीडित परिवारको सहयोग, घाइतेको उपचारमा सहजीकरण तथा सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ।
सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ।










