काठमाडौं । नेपालमा विद्युतीय तथा डिजिटल भुक्तानी प्रणालीको पहुँच निरन्तर विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड ३ लाख १७ हजार ५७५ पुगेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी विवरणअनुसार यस अवधिमा वालेट प्रयोगकर्ताको संख्या पनि २ करोड ८० लाख ३३ हजार ३९ पुगेको छ । गत आर्थिक वर्षको असारमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ७६ लाख ९८ हजार ९१८ रहेको थियो ।
चालु आर्थिक वर्षको साउनसम्म मुलुकमा ८ वटा भुक्तानी प्रणाली सञ्चालक र १९ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । भुक्तानी प्रणाली सञ्चालकका एजेन्टको संख्या भने ३ लाख ३८ हजार १९३ पुगेको छ । गत असारमा यस्तो एजेन्ट संख्या ३ लाख ४५ हजार ३९४ थियो ।
मोबाइल बैंकिङ प्रयोगकर्ता निरन्तर बढ्दै
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पछिल्ला वर्षमा निरन्तर बढेको देखिन्छ । २०८१ असारमा २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको प्रयोगकर्ता संख्या २०८२ असारमा २ करोड ७७ लाख ४१ हजार २८४ पुगेको थियो ।
त्यस्तै, २०८२ साउनमा २ करोड ७९ लाख ८८ हजार ७०८ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या २०८३ असारमा ३ करोड ९ हजार ९३२ पुगेको थियो । २०८३ साउनसम्म आइपुग्दा यो संख्या बढेर ३ करोड ३ लाख १७ हजार ५७५ पुगेको हो ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने २०८३ साउनमा २४ लाख ६२ हजार ६० पुगेका छन् । २०८३ असारमा यस्तो संख्या २४ लाख ९८ हजार ५८३ थियो ।
कार्ड प्रयोगकर्ता पनि बढे
राष्ट्र बैंकका अनुसार २०८३ साउनसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड ३७ लाख ४८ हजार ९६९ पुगेको छ । २०८१ असारमा यस्तो संख्या १ करोड २८ लाख ९३ हजार ५२८ थियो ।
क्रेडिट कार्ड प्रयोगकर्ता २०८१ असारको २ लाख ८९ हजार २३९ बाट बढेर २०८३ साउनमा ३ लाख ३४ हजार ६५३ पुगेका छन् ।
त्यस्तै, प्रिपेड कार्डको संख्या पनि २०८१ असारको १ लाख ८१ हजार ७२४ बाट बढेर २०८३ साउनमा २ लाख ८४ हजार ८११ पुगेको छ ।
शाखारहित बैंकिङ केन्द्र लगातार घट्दै
डिजिटल बैंकिङको पहुँच विस्तार भइरहेका बेला शाखारहित बैंकिङ केन्द्रको संख्या भने लगातार घटेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असारमा १ हजार १२९ वटा रहेको शाखारहित बैंकिङ केन्द्र २०८२ असारमा ८२२ वटामा झरेको थियो । २०८२ साउनमा ८१६ र २०८३ असारमा ६८१ पुगेको यस्तो केन्द्रको संख्या २०८३ साउनसम्म आइपुग्दा ६३६ वटामा सीमित भएको छ ।
एटीएम काउन्टरको संख्या पनि पछिल्लो समय घटेको छ । २०८१ असारमा ५ हजार १९३ रहेको एटीएम संख्या २०८२ असारमा ५ हजार २६३ पुगेको थियो । तर २०८३ साउनसम्म आइपुग्दा घटेर ५ हजार १०८ मा कायम भएको छ ।









