काठमाडौं । फोनपेले महिला सशक्तिकरण केन्द्रित आफ्नो प्रमुख अभियान ‘सक्षम नारी’ सफलतापूर्वक सम्पन्न गर्दै पुल्चोकस्थित स्क्वायर होटलमा मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह आयोजना गरेको छ।
मार्च महिनाभर सञ्चालन गरिएको ‘सक्षम नारी’ अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरणमार्फत सशक्त बनाउनु तथा क्रेडिट कार्डलाई वित्तीय आत्मविश्वास र जीवनशैलीको महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्न प्रेरित गर्नु रहेको थियो।
फोनपेले एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा अभियान सञ्चालन गरेको थियो। अभियानमार्फत सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउँदै महिलाहरूको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखिएको थियो।
अभियान सम्पन्न भएको अवसरमा आयोजित विशेष समारोहमा सहभागी प्रत्येक वित्तीय संस्थाबाट एक–एक जना गरी छ जना महिला विजेतालाई अभियानको आधिकारिक ज्वेलरी पार्टनर साजुना ज्वेलर्सद्वारा डायमण्ड ज्वेलरी प्रदान गरिएको थियो।
विजेताहरूमा लक्ष्मी सनराइज बैंककी नुतन साह, सिद्धार्थ बैंककी बिनु गन्धारी, एभरेष्ट बैंककी रबिना सैंजू, कुमारी बैंककी बिष्णु माया लिम्बु, मञ्जुश्री फाइनान्सकी बिन्दु श्रेष्ठ तथा गरिमा विकास बैंककी अर्चना न्यौपाने रहेका छन्।
फोनपेले ‘सक्षम नारी’ जस्ता अभियानमार्फत महिलाहरूलाई आवश्यक ज्ञान, अवसर र डिजिटल उपकरण उपलब्ध गराउँदै नेपालको समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउँदै आएको जनाएको छ।
फोनपे नेपालकै अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो, जसले बैंक, वित्तीय संस्था, वालेट, व्यापारी तथा उपभोक्ताबीच अन्तरसञ्चालनीय डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ।








