काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटालाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ। कम्पनीले संस्थागत नेतृत्वलाई निरन्तरता दिन यो निर्णय गरिएको जनाएको छ।

सापकोटा सन् २०२१ देखि फोनेपेको नेतृत्व गर्दै आएका छन्। बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार र फिनटेक क्षेत्रमा उनको २० वर्षभन्दा बढी अनुभव रहेको छ। फोनेपेको प्रारम्भिक टोलीका सदस्यका रूपमा उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

ADVERTISEMENT

सीईओको जिम्मेवारी सम्हालेपछि उनको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको कम्पनीको दाबी छ। प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट विकसित हुँदै फोनेपे देशकै विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारका रूपमा स्थापित भएको छ।

ADVERTISEMENT

उनको कार्यकालमा फोनेपेले सबै बैंक तथा वित्तीय संस्थालाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप क्यूआर भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको थियो। हाल फोनेपेले फोनपे क्यूआर, फोनपे डाइरेक्ट, फोनपे बिल्स, फोनपे भर्चुअल कार्ड लगायतका सेवामार्फत देशभरका लाखौं व्यवसाय र उपभोक्तालाई सेवा दिँदै आएको छ।

डिजिटल कारोबारमा तीव्र वृद्धि गर्दै फोनेपेले दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र १५ अर्ब रुपैयाँभन्दा बढी दैनिक कारोबार मूल्य पार गरेको जनाएको छ। साथै भारत र चीनका भुक्तानी सञ्जालसँग एकीकरण गर्दै क्रस-बोर्डर डिजिटल भुक्तानी विस्तारमा पनि काम अघि बढाइएको छ।

ADVERTISEMENT

कम्पनीका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै फोनपे भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरिएको छ, जसअन्तर्गत १.५ वर्षभित्र ३० हजारभन्दा बढी कार्ड जारी भएका छन्। फोनेपेले ७७ वटै जिल्लामा २० लाखभन्दा बढी क्यूआर टर्मिनलमार्फत आफ्नो मर्चेन्ट सञ्जाल विस्तार गरेको छ।

पुनः नियुक्तिपछि सापकोटाले आगामी कार्यकालमा क्रस-बोर्डर भुक्तानी अन्तरसम्बन्ध, उत्पादन तथा इकोसिस्टम विस्तार र वित्तीय पहुँच कम भएका क्षेत्रमा समावेशीकरण विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

साथै, फोनेपेलाई सार्वजनिक कम्पनी (आईपीओ) मा लैजाने प्रक्रिया पनि अगाडि बढाइएको छ। कम्पनीका सेयरधनीहरूले डिसेम्बर २०२५ मा आईपीओ प्रस्ताव स्वीकृत गरिसकेका छन् र सन् २०२६ भित्र सार्वजनिक निष्कासन गर्ने लक्ष्य राखिएको छ।

फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अग्रणी पेमेन्ट सिस्टम अपरेटर हो। यसले बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट, व्यवसायी र उपभोक्तालाई एउटै एकीकृत नेटवर्कमा जोड्दै क्यूआर-आधारित भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। हाल फोनेपेले क्यूआर कारोबारमा करिब ९६ प्रतिशत बजार हिस्सा ओगटेको र दैनिक २० लाखभन्दा बढी कारोबार प्रशोधन गर्दै २० अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्ने जनाएको छ।