काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

ADVERTISEMENT

शाह कतार एयरवेजको विमानमार्फत न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। उनको सम्बोधनमा जलवायु परिवर्तन, जलवायु न्याय, हालैको भोटेकोशी बाढी तथा पर्वतीय मुलुकका सरोकारका विषय उठाउने तयारी गरिएको छ।

प्रधानमन्त्रीलाई बिदाइ गर्ने क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी लेखक पल केनेडीको चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ उपहार दिएको विवरणसमेत सार्वजनिक भएको छ। सन् १९८७ मा प्रकाशित उक्त पुस्तकले सन् १५०० देखि २०औँ शताब्दीको अन्त्यसम्म विश्वका प्रमुख शक्तिहरूको उदय र पतनका ऐतिहासिक तथा आर्थिक पक्षको विश्लेषण गर्छ।

ADVERTISEMENT