काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहका लागि पठाएको लिखित सन्देशमार्फत उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री शाहको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समारोहमा वाचन गरेका थिए। ‘सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई आगामी दिनमा सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।
उनले प्रहरीलाई सक्षम बनाउन आवश्यक नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। साथै, प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि उनले बताएका छन्।
प्रधानमन्त्री शाहले वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको सन्देश दिएका छन्। यस्ता अपराध नियन्त्रणका लागि प्रहरीको समन्वयमा नेपाल राष्ट्र बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र डिजिटल सेवा प्रदायकहरूलाई एकै ठाउँमा ल्याउने काम भइरहेको उनले उल्लेख गरेका छन्।










