काठमाडौं । प्रधानमन्त्री बालेन शाहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । र्याप गीतमा महिला तथा लैङ्गिक अल्पसंख्यक समुदायविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा उजुरी दर्ता गरिएको हो ।
मोरङ, रुपन्देही, सर्लाही र खोटाङ स्थायी घर भएका विवेक मगर, रोजी पुन, महिन्द्र सिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दिएको उजुरीमा युट्युबमार्फत प्रसारित एक भिडियोमा गम्भीर आपत्तिजनक शब्द प्रयोग भएको दाबी गरिएको छ । उक्त उजुरी २०८३ साल वैशाख ४ गते नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरो, भोटाहिटीमा पेश गरिएको हो ।
उजुरीमा उल्लेख गरिएअनुसार The Songs of Nepal युट्युब च्यानलमा अपलोड गरिएको “Balen Vs Litl Grizl – Raw Barz (RAP BATTLE)” शीर्षकको करिब २० मिनेट १४ सेकेन्ड लामो भिडियोमा बालेन्द्र शाह (बालेन) ले प्रयोग गरेका केही शब्द तथा अभिव्यक्ति महिला विरोधी, अपमानजनक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति घृणाजन्य रहेको आरोप लगाइएको छ ।
निवेदकहरूले विशेषगरी भिडियोको विभिन्न समय खण्डमा प्रयोग गरिएका शब्दहरू अत्यन्त आपत्तिजनक रहेको उल्लेख गरेका छन् । उनीहरूका अनुसार “मर्द हेर यस्तो हुन्छ”, “यसको त गिलो रैछ”, “बुडिलाई स्लिम सिटीले पालैपालो छुने भो”, “टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने” जस्ता अभिव्यक्तिहरूले महिलालाई हेप्ने, यौनिक रूपमा वस्तुकरण गर्ने र अपमान गर्ने प्रकृतिको सन्देश दिएको छ । साथै, “जबरजस्ती केटाहरूले गर्नेछन् मस्ती खाएर रक्सी” भन्ने अभिव्यक्तिले बलात्कारजस्ता हिंसात्मक व्यवहारलाई सामान्यीकरण गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।
त्यस्तै, हिँजडा, छक्का जस्ता शब्दहरू प्रयोग गरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति घृणा फैलाउने प्रयास गरिएको उजुरीमा उल्लेख छ । यस्ता शब्दहरू हिंसात्मक र अमानवीय सन्दर्भमा प्रयोग गरिएको भन्दै निवेदकहरूले गम्भीर आपत्ति जनाएका छन् ।
उजुरीमा भिडियो सामग्री सार्वजनिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएकोले यसले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने, महिला तथा अल्पसंख्यक समुदायप्रति हिंसा र विभेदलाई प्रोत्साहन गर्ने जोखिम रहेको दाबी गरिएको छ । त्यसैले प्रचलित कानुनअनुसार आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
निवेदकहरूले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित उजुरी दर्ता गराएका छन् र आफूहरूले दिएको विवरण सत्य भएको उल्लेख गर्दै गलत ठहरे कानुनअनुसार जिम्मेवारी वहन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
उजुरीको प्रतिलिपी:

विवादित गीतको लिंकः






