काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ।

मंगलबार बसेकाे पार्टीको संयोजन समिति बैठकले सदस्यता वितरण तथा नवीकरण, संगठन निर्माणलगायत विषयलाई अभियानसँग जोडेर अघि बढाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

पार्टीले अभियानका क्रममा संगठन निर्माण तथा बाँकी रहेका संगठनात्मक कामको समायोजन, सदस्यता वितरण र नवीकरण अभियानलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।

ADVERTISEMENT

अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । बैठकले रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका काममा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत गरेको छ।

बाढीपहिरोमा ज्यान गुमाएका सहिद तथा पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग र उद्धार कार्यलाई प्रभावकारी बनाउन जोड दिएको छ।

ADVERTISEMENT

नेकपाले सरकारका जनविरोधी गतिविधि, बढ्दो महँगी र कुशासनविरुद्ध आन्दोलनलाई समेत अभियानसँग जोड्ने तयारी गरेको छ। संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थामाथिका चुनौतीका विषयमा जनस्तरमा अभियान सञ्चालन गर्दै आन्दोलन अघि बढाउन व्यवस्थित कार्ययोजना तयार गरिने पार्टीले जनाएको छ। उक्त कार्ययोजना पनि सचिवालय बैठकले पारित गर्नेछ।

यसैबीच, नेकपाले विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिले कम्युनिस्ट पार्टी तथा समूहहरूसँग एकता र सहकार्यका सम्भावनाबारे संवाद अघि बढाउनेछ।

यसअघि नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने गरी भदौदेखि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन तथा संगठनात्मक गतिविधिको कार्यतालिका बनाएको थियो। तर, पछिल्लो समय आएको बाढीपहिरोका कारण निर्धारित कार्यतालिका अघि बढाउन नसकिएको प्रवक्ता ज्वालाले जानकारी दिए।

उनका अनुसार अब बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यसँगै संगठनात्मक गतिविधिलाई पुनः व्यवस्थित ढंगले अघि बढाइनेछ।