काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो ।

ADVERTISEMENT

सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्नलगायतका विवरण छन् । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको छ ।

चुनाव चिह्न ‘पाँचकुने तारा’ रहेको छ । एकतामा आएका सबै दलका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्य कायम हुनेछन् ।

ADVERTISEMENT

नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनिनुभएको छ । नेता महिन्द्रराय यादवले प्रस्ताव गरेपछि सभाले अनुमोदन गरेको हो ।

एकता सम्मेलनमा नेता देव गुरुङले २३ बुँदे प्रतिबद्धता प्रस्तुत गर्नुभयो । जसमा सङ्घीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको सङ्ख्या घटाउने, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, नागरिकप्रति निष्ठावान् रहेने, मार्क्सवाद र लेनिनवाद सिद्धान्त नेपालमा सिर्जनात्मक ढङ्गले लागू गर्ने, वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अङ्ग रूपान्तरण उल्लेख छ ।
एकीकृत पार्टीबीच आउँदो ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ ।
एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने दलहरूबीच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने उल्लेख छ ।