काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व परिवर्तनको माग चर्किएको छ। बिहीबार पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनहरूको बैठकमा युवा नेताहरूले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन्।
बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले वर्तमान नेतृत्वले अब पार्टीलाई अघि बढाउन नसक्ने भन्दै प्रचण्डले जिम्मेवारीबाट बाहिरिनुपर्ने धारणा राखे। उनले प्रचण्डले सक्रिय पार्टी राजनीतिबाट अलग भई राष्ट्रको अभिभावकको भूमिकामा रहनुपर्ने सुझाव दिए।
“सानो पार्टीको नेतृत्वमा बसेर ऊर्जा खर्च गर्नु हुँदैन, अब देशको अभिभावक बन्ने समय आएको छ,” थापाको भनाइ उद्धृत गर्दै एक सहभागी नेताले बताए।
बैठकमा सहभागी अन्य युवा नेताहरूले पनि नेतृत्व पुस्तान्तरणको आवश्यकता औंल्याउँदै छिट्टै महाधिवेशनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण नगरे पार्टीको भविष्य अन्योलमा पर्ने चेतावनी दिएका छन्।