काठमाडौं, असोज ५ । काठमाडौंको त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा आगजनी गरेको घटनाको छानबिन गर्न प्रहरीको पाँच सदस्यीय समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डीआईजी गोविन्द थपलियाका अनुसार समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ।

ADVERTISEMENT

सोमबार दिउँसो करिब १२ः१५ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडिको बस पकेटमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको मिनिबसमा आगलागी भएको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार घटनाका बेला बसमा यात्रु थिएनन्। चालक २५ वर्षीय दावा लामा बसभित्रै रहेका बेला आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानमा चालक लामाले नै बसमा आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।

आगो लागेपछि सुरक्षाकर्मीले बसको ढोका फुटाएर लामालाई उद्धार गरेका थिए। आगलागीमा गम्भीर घाइते भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो विवरणअनुसार उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको चिकित्सकले बताएका छन्।

ADVERTISEMENT

बसमा आगजनी गर्नुको यकिन कारण भने अहिलेसम्म खुलेको छैन। घटनाअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको हुनसक्ने प्रारम्भिक विवरण आए पनि प्रहरीले त्यसलाई अनुसन्धानकै विषयका रूपमा राखेको छ।

छानबिन समितिले घटनाको कारण, आगजनीको अवस्था तथा त्यसअघिका घटनाक्रमबारे अनुसन्धान गर्नेछ। समितिको प्रतिवेदनपछि घटनामा संलग्न पक्षबारे थप कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।