काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पोखरास्थित फेवाताल क्षेत्रभित्रको जग्गाको वास्तविक अवस्था पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले फेवातालको चार किल्लाभित्र पर्ने जग्गाको वर्तमान स्थिति, त्यहाँ निर्माण भएका संरचना तथा उपयोगको अवस्थाबारे विस्तृत अध्ययन गर्नेछ।
मन्त्री प्रतिभा रावल को सचिवालयका अनुसार समितिलाई ताल क्षेत्रभित्र रहेका सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने जिम्मेवारी दिइएको छ। निजी तथा सरकारी दुवै किसिमका जग्गाको दर्ता स्थिति, प्रयोग र अतिक्रमणको अवस्था पनि अध्ययनको दायरामा पर्नेछ।
फेवाताल क्षेत्र संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय ताल क्षेत्र अतिक्रमणबारे बढ्दो चासो र बहसका बीच सरकारले यस विषयमा ठोस तथ्य संकलन गर्न पहल गरेको हो।
समितिलाई सात दिनभित्र विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ।यसैबीच,प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणप्रति चासो देखाएपछि पोखरा महानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउने अभियान सञ्चालन गरिरहेको छ।








