काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने तयारी गरेको छ।

शनिबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए।

ADVERTISEMENT

महतका अनुसार इतर पक्षले यसअघि एकताको महाधिवेशनका लागि प्रयास गरेको थियो। तर सहमति हुन नसकेपछि छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताए।

ADVERTISEMENT

महाधिवेशनको तयारीका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको छ। त्यसपछि विभिन्न तहका अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनमा पुग्ने कार्यतालिका इतर पक्षले अघि सारेको छ।

यसअघि इतर समूहले असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो।

ADVERTISEMENT

कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर फरक–फरक प्रक्रियासहितका गतिविधि अघि बढिरहेका छन्। कांग्रेसको आधिकारिक केन्द्रीय निर्वाचन समितिले भने आफ्नो कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।