काठमाडौं । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौंका विभिन्न क्षेत्रमा करिब ५ हजार होटलका कोठा व्यवस्थापन गरिएको छ।
महाधिवेशनको आवास व्यवस्थापन समितिका अनुसार गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकीलगायत क्षेत्रमा प्रतिनिधिका लागि होटल बुकिङ गरिएको हो। समितिको संयोजकत्व केन्द्रीय सदस्य रमेशप्रसाद धमलाले गरेका छन्।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई बस्न मिल्ने गरी होटलको व्यवस्थापन गरिएको छ।
उनका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा बसोबासको व्यवस्था गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिलाई सुन्धारा र कलंकी क्षेत्रमा राख्ने व्यवस्था मिलाइएको छ। विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि भने लाजिम्पाट र ठमेल क्षेत्रमा आवासको व्यवस्था गरिएको जनाइएको छ।
आवास व्यवस्थापन समितिले प्रतिनिधिलाई सहुलियत दरमा होटल उपलब्ध गराउन समन्वय गरेको जनाएको छ। तर जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आएका महाधिवेशन प्रतिनिधिले होटलको खर्च आफैं बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। कार्यक्रमस्थलसम्मको आवतजावत खर्चसमेत सहभागीले नै बेहोर्नुपर्ने व्यवस्था गरिएको छ।
विदेशबाट आएका पाहुना तथा प्रतिनिधिको आवास खर्च भने पार्टीले बेहोर्ने व्यवस्था गरिएको छ। महाधिवेशन अवधिमा प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
कांग्रेसले आवास व्यवस्थापनमा समस्या परे सहजीकरणका लागि सम्बन्धित संयोजक तथा होटल व्यवसायी संघसँग समन्वय गर्न सकिने जनाएको छ। प्रतिनिधिले आफ्नो आवाससम्बन्धी विवरण पार्टीले उपलब्ध गराउने माध्यमबाट पनि हेर्न सक्नेछन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदैछ। असोज १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका छ। महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।







