काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सोमबार बस्दैछ । बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।
अनुशासन समितिको सोमबार दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिनेबारे बैठकमा छलफल हुने बताए । खड्काले कांग्रेसको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसला मान्ने भएपछि उनलाई सोधेको स्पष्टीकरण फिर्ता लिन लागिएको हो । यस विषयमा सभापति गगन थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेका छन् ।
खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ ।
आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए । थापा र खड्काबीच एक घन्टा कुराकानी भएको थियो । पार्टीको बृहत्तर एकताबारे छलफल भएको र चाँडै भेट्ने वाचासहित थापा बाहिरिएका थिए ।






