काठमाडौं। प्रधानमन्त्री बालेन शाहले विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा छलफल भइरहेको छ।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्थाको समीक्षा, हालको परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा प्रभावित क्षेत्रको पुनरुत्थानका विषयमा छलफल केन्द्रित रहेको छ।
बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा स्थानीय तहले सामना गरिरहेका समस्याबारे जनप्रतिनिधिहरूबाट जानकारी लिने र आगामी कार्ययोजनाबारे आवश्यक छलफल गर्ने तयारी रहेको छ।
विपद्पछिको पुनःस्थापना तथा पुनरुत्थानलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप व्यवस्थित गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।






