धनगढी। अविरल वर्षापछि आएको बाढी बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान नजिकको बस्तीमा पसेपछि जोखिममा रहेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै प्रहरी र स्थानीयको सहयोगमा परिवारका सदस्य तथा घरका आवश्यक सामानसहित उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो। उनीहरूलाई तत्काल नजिकै सुरक्षित रहेका स्थानीयवासीका घरमा अस्थायी रूपमा राखिएको छ।
प्रहरीका अनुसार प्रभावित १३ परिवारमध्ये तीन घर बाढीको उच्च जोखिममा रहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँ बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्।
यस्तै, निरन्तर वर्षासँगै खसेको पहिरोका कारण बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ।





