काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले तयार गरेको प्रतिवेदन र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

ADVERTISEMENT

बैठकमा संयोजक बादलले ‘मेरो तर्फबाट’ र ‘महासचिवको तर्फबाट’ भन्दै दुईवटा प्रतिवेदन प्रस्तुत गरेका थिए। ती दुवै दस्तावेजमाथि कार्यदलका सदस्यहरूले छलफल गरेका थिए।

ADVERTISEMENT

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले दुवै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका विषयलाई एकीकृत गर्ने निर्णय गरेको छ। कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गर्ने र साझा प्रतिवेदन तयार गर्नेछ।

उनका अनुसार दुवै प्रतिवेदनमा उल्लेख भएका विषयलाई समेटेर तयार पारिने संयुक्त प्रतिवेदन एमाले सचिवालयमा पेश गरिनेछ। निर्वाचनमा पार्टीको प्रदर्शन, कमजोरी तथा आगामी दिनमा संगठन पुनर्गठनका विषयमा कार्यदलले समीक्षा गरिरहेको छ।

ADVERTISEMENT