काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै आएका बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उनलाई ‘नव लेन्डुप’को संज्ञा दिएका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई वाग्लेलाई पदबाट हटाउन आग्रह गरेका छन्।
बाँस्कोटाले पृथ्वीनारायण शाहको परराष्ट्र नीतिसम्बन्धी भनाइ उद्धृत गर्दै वाग्लेको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग,’ भन्दै पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई ‘झिकी कटक–जाई कटक’ र ‘दुई ढुंगाको तरुल’को सूत्रमा बाँधेको उल्लेख गरेका छन्।
उनले थप लेखेका छन्, ‘अहिले बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम, पिएम!’
वाग्लेले गत कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए।
उनको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले आलोचना गर्दै आएका छन्। यही विषयलाई लिएर बाँस्कोटाले पनि वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै उनलाई पदबाट हटाउन माग गरेका हुन्।









