काठमाडौं। चीनको एआई स्टार्टअप मुनसट एआईले हालै सार्वजनिक गरेको किमी के३ मोडेलमा अत्यधिक प्रयोगकर्ता चाप परेपछि नयाँ सशुल्क सदस्यता अस्थायी रूपमा बन्द गरेको छ। सार्वजनिक भएको ४८ घण्टाभित्रै अपेक्षाभन्दा धेरै माग बढेपछि कम्पनीले आफ्नो कम्प्युटिङ क्षमता लक्षित सीमामा पुगेको जनाएको हो।

कम्पनीका अनुसार हालका सदस्यहरूको सेवा गुणस्तर कायम राख्न नयाँ सदस्यता रोकिएको हो। आवश्यक कम्प्युटिङ क्षमता थप्ने काम तीव्र गतिमा भइरहेको र चरणबद्ध रूपमा पुनः नयाँ सदस्यता खुला गरिने जनाएको छ।

बेइजिङस्थित मुनसट एआईले विकास गरेको किमी के-३ करिब २.८ ट्रिलियन प्यारामिटर भएको ओपन–सोर्स एआई मोडेल हो। कोडिङ, तर्क क्षमता र जटिल कार्यसम्पादनमा यसले विश्वका अग्रणी एआई मोडेलसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ। सार्वजनिक भएपछि यसले एआईको क्षमता मापन गर्ने विभिन्न प्लेटफर्ममा आफ्नो  उच्चस्तरियता देखाएको छ।

ADVERTISEMENT

किमी के३ को सफलतासँगै चीन र अमेरिकाबीचको कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा प्रतिस्पर्धा थप तीव्र बनेको विश्लेषण गरिएको छ। कम लागतमा शक्तिशाली एआई मोडेल उपलब्ध गराउने चिनियाँ कम्पनीहरूको बढ्दो प्रभावले अमेरिकी प्रविधि कम्पनीहरूमाथि पनि प्रतिस्पर्धात्मक दबाब बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ADVERTISEMENT

यसबीच चीनका अन्य प्रविधि कम्पनीहरूले पनि नयाँ एआई मोडेल सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। अलिबाबाले हालै क्योएन ३.८ म्याक्सको झलक सार्वजनिक गरेको छ भने जेड.एआईले जिएलएम-५.२  मोडेल बजारमा ल्याएको छ। यसले चीनको एआई क्षेत्रमा तीव्र प्रतिस्पर्धा र नवप्रवर्तनलाई थप गति दिएको विश्लेषण गरिएको छ।

ADVERTISEMENT