काठमाडौं । नेपाली कांग्रेसमा अहिले तीनवटा समूह देखापरेको छ । केही दिनअगाडिसम्म पूर्णबहादुर खड्काको भेला र बैठकमा सहभागी हुने गरेका डा.शेखर कोइराला अहिले अलग्गै गुट तयार गर्न लागिपरेका छन् ।
खडका समूहको धुम्बाराहीस्थित होटेल स्मार्टमा तीन दिनसम्म भेला बसेको थियो । भेलाले ११ बुँदे निर्णय सार्वजनिक गरेको छ । भेलाको मुख्य निष्कर्ष विशेष महाधिवेशन पक्षधरकै कारण कांग्रेस चुनावमा नराम्ररी पराजित भएको हो । अहिलेको अवस्था आउनुमा पनि विशेष महाधिवेशनको नेतृत्वकर्ता गगन थापा र विश्वप्रकाश शर्माको मुख्य हात रहेको उनीहरुकाे आराेप छ ।
निवर्तमान कार्यवाहक सभापति खड्काले विज्ञप्ति जारी गरेर कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको उल्लेख गरेका छन् ।
‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्वसन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ,’ विज्ञप्तिमा उल्लेख छ । यो समूहले विशेष महाधिवेशनले एकलौटी गर्न लागेको १५औं महाधिवेशनमा सहभागी हुन नसकिने अडान लिएको छ ।
नेता शेखर काेइरालाले बिहीबार बालुवाटारस्थित एक होटलमा आफू निकट नेताहरुसँग छलफल गरे । बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवमु पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेश सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलगायत सहभागी भए ।
शेखरको सचिवालयका अनुसार देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो । छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् ।
अहिले आएर सदस्यता अध्यावधिक व्यावहारिक नभएको उनीहरूको तर्क थियो । उनीहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको पनि बताएका छन् । पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै रहेको उनीहरूले निष्कर्ष सुनाएका छन् ।
छलफलमा नेताहरू शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाइँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, गोविन्दराज पोख्रेल, किरण यादव र गणेश लामा सहभागी थिए ।








