हेटौँडा । नेकपा एमालेका सांसद किरण थापाले बागमती प्रदेशको मुख्यमन्त्रीमा बहुमतसहित दाबी पेस गरेका छन्। उनले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष ६३ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गरिएको हो।
यद्यपि, थापाको नियुक्ति र शपथग्रहण भने बिहीबार मात्र हुने भएको छ। प्रदेश प्रमुख देवकोटाले अन्य दाबी आउन सक्ने सम्भावना र तत्काल नियुक्ति गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने भन्दै बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय दिएका छन्।
उक्त समयसीमा सकिएपछि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र लगत्तै पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको समर्थनमा थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद गरी ६३ सांसदको समर्थन रहेको छ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। यस हिसाबले थापाको पक्षमा आवश्यक बहुमतभन्दा १० सांसद बढीको समर्थन देखिएको छ।
केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। तर, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयन गर्ने विषयमा लामो समय विवाद चलेको थियो।
अन्ततः मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेतामै कायम राख्दै किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
यसअघि बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका थिए। एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले अन्य दलको समर्थन जुटाउन नसकेपछि राजीनामा दिएका थिए।





