विराटनगर । उपभोक्ता हितविपरीत कार्य गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

बुढीगंगा गाउँपालिका–५ मा रहेको उद्योगमा बुधबार गरिएको बजार अनुगमनका क्रममा कम तौलको ग्यास तथा म्याद गुज्रिएका सिलिण्डर फेला परेपछि उद्योगलाई कारबाही गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयसहितको संयुक्त अनुगमन टोलीले उद्योगको निरीक्षण गरेको थियो ।

ADVERTISEMENT

अनुगमनका क्रममा उद्योग परिसरमा रहेका १९ वटा भरिएका सिलिण्डरको तौल परीक्षण गरिएको थियो । त्यसमध्ये एउटा सिलिण्डरमा तोकिएकोभन्दा २४० ग्राम कम ग्यास रहेको पाइएको थियो ।

ADVERTISEMENT

त्यस्तै, उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि बजार पठाउने तयारी गरेको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । म्याद नाघेका सिलिण्डर प्रयोग गर्दा जोखिम हुनसक्ने भन्दै टोलीले त्यसलाई गम्भीर रूपमा लिएको हो ।

कम तौलको ग्यास र म्याद गुज्रिएका सिलिण्डर फेला परेपछि उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो ।

मोरङमा पछिल्लो समय ग्यास उद्योग तथा बिक्री केन्द्रमाथि बजार अनुगमनलाई तीव्र पारिएको छ । यसअघि कोशी ग्यास उद्योग पनि अनुगमनका क्रममा कारबाहीमा परेको थियो ।

यसैबीच, विराटनगर महानगरपालिका–३ मा रहेको कञ्चनेश्वर ग्यास पसललाई पनि अनुगमन टोलीको काममा अवरोध गरेको भन्दै कारबाही गरिएको छ । जाँचबुझ तथा निरीक्षणमा अवरोध पुर्‍याएको भन्दै पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

बजारमा बिक्री हुने ग्यासको तौल, सिलिण्डरको म्याद तथा उपभोक्ता सुरक्षासम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।