काठमाडौं । आज साउन १ गते अर्थात् नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन । यस दिन सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहान सामाजिक सञ्जालमार्फत सेयर बजारमा चलेका हल्ला र सरकारले गर्न लागेका सुधारबारे लामो व्याख्या गरेपछि त्यसको प्रभाव सेयर बजारमा परेको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत बढेको छ। लगानी र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से उच्च अंकले बढे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार चार अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज बजारमा ३३५ स्टकको ५८ हजार ९४ पटकको कारोबारमा चार अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको एक करोड ३ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको २२ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
शुक्रबार श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने शिखर पावर डेभलपमेन्टको सेयरमूल्य साढे १२ प्रतिशत बढेको छ।





