काठमाडौं । नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। बढ्दो कारोबारसँगै पुष्प व्यवसायमा लगानी, रोजगारी र व्यावसायिक सम्भावना विस्तार हुँदै गए पनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन मुख्य चुनौतीका रूपमा देखिएका छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले बिहीबार ललितपुरको गोदावरीमा आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा उक्त जानकारी दिएका हुन्।
श्रेष्ठका अनुसार हाल नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा पुष्प खेती विस्तार भएको छ। उपलब्ध क्षेत्रगत विवरणअनुसार ५४ जिल्लामा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फूलखेती भइरहेको छ। यस क्षेत्रमा १ हजार ४४५ भन्दा बढी व्यवसायी तथा उद्यमी संलग्न छन् भने ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ। पुष्प व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ६५ हजारभन्दा बढीले रोजगारी पाएको उनले बताए।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले करिब १६ करोड १३ लाख रुपैयाँ बराबरका पुष्प तथा पुष्पजन्य वस्तु आयात गरेको थियो। सोही अवधिमा निर्यात भने १ करोड १५ लाख रुपैयाँ बराबरको मात्रै भएको थियो।
कारोबार विस्तार भए पनि आयात र निर्यातबीचको ठूलो अन्तरले स्वदेशी उत्पादनले बजारको माग पर्याप्त रूपमा धान्न नसकेको संकेत गर्ने श्रेष्ठको भनाइ छ। त्यसैले उत्पादन बढाउनेसँगै गुणस्तर सुधार, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनले बताए।

उनले उपयुक्त प्रविधि, गुणस्तरीय उत्पादन र व्यवस्थित बजारको विकास गर्न सके पुष्प व्यवसाय कृषि आधुनिकीकरण, ग्रामीण उद्यमशीलता र आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने बताए। थोरै क्षेत्रफलबाट समेत तुलनात्मक रूपमा उच्च मूल्यको उत्पादन गर्न सकिने भएकाले यो व्यवसाय महिला, युवा तथा साना किसानका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।
पुष्प व्यवसायको दिगो विकासका लागि श्रेष्ठले पुष्प प्रवर्द्धन नीति, २०६९ पुनर्लेखन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। नयाँ जातका फूल तथा आलंकारिक बालीको विकास र अन्तर्राष्ट्रिय बजारको माग तीव्र रूपमा परिवर्तन भइरहेकाले जात दर्ता, आयात, परीक्षण तथा व्यावसायिक प्रयोगसम्बन्धी प्रक्रिया सहज र समयसापेक्ष बनाउनुपर्ने उनले बताए।
त्यस्तै, प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूल तथा पुष्पजन्य वस्तुको प्रयोग, बिक्रीवितरण र प्रचारप्रसार नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। यस्ता सामग्रीले वातावरणमा प्रतिकूल असर पार्नुका साथै स्वदेशी प्राकृतिक फूलको बजारमा समेत नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
नेपालको जैविक तथा वानस्पतिक विविधताको उपयोग गर्दै रैथाने फूल र शोभनीय वनस्पतिको व्यावसायिक उत्पादन तथा निर्यात बढाउनुपर्ने उनले बताए।
श्रेष्ठले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा फूल संकलन, वर्गीकरण, ग्रेडिङ, प्याकेजिङ, शीतभण्डार, मूल्य सूचना र वितरणको एकीकृत सुविधा भएको आधुनिक पुष्प थोक बजार स्थापना गर्न पनि माग गरेका छन्। यस्तो पूर्वाधारले फूलको गुणस्तर कायम राख्न, बजार व्यवस्थापन सुधार गर्न र उत्पादकलाई उचित मूल्य दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








